काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार मध्यान्ह स्वदेश फर्किनु भएको छ । प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार सिङ्गापुरबाट थाइल्याण्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्किनु भएको हो ।
प्रधानमन्त्रीलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहितका सरकारका उच्च पदस्थ अधिकारी विमानस्थलमा पुग्नु भएको थियो । प्रधानमन्त्रीले बोल्ने अपेक्षासहित धेरै पत्रकारहरु विमानस्थल पुगेका थिए ।
तर हात हल्लाउँदै विमानस्थलबाट निस्किनु भएका ओली पत्रकारसँग बोल्दै नबोली सरकारी निवास बालुवाटारतर्फ लाग्नु भयो । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ गत भदौ ५ गते त्यसतर्फ जानु भएको हो ।