काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्राम दिन सत्तारुढ नेकपालाई आग्रह गर्नुभएको छ । बुधवार प्रतिनिधि सभाको बिशेष समयमा सांसद थापाले अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद् बैठक संञ्चालन गर्नुभएका प्रधानमन्त्री ओलीलाई विश्राम लिन आग्रह गर्नुभएको हो ।
सांसद थापाले कार्यकारी प्रमुख लामो समय सम्म देश बाहिर बस्दा मुलुकको राष्ट्रिय सुरक्षा तथा कुटनीतिक मर्यादा आदिमा जोखिम उत्पन्न हुने भन्दै प्रधानमन्त्रीलाई धेरै धपेडी नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण लगातार काम गर्न नसक्ने भन्दै उहाँले विकल्प खोज्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
बैठकमा नेकपाका सांसद शेर बहादुर तामाङले एउटै प्रकृतिको मुद्धामा न्यायलयबाट भिन्न भिन्न आदेश भएकोमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले एनसेल कर असुलीको सम्बन्धमा अदालतकै अघिल्लो फैसलाले ३ महिना भित्र कर उठाउनु भन्ने र पछि अदालतबाट पुन कर निर्धारण गर्नु भनी अर्को आदेश आउनु आफैमा विवादास्पद भएको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्वास्थ्य क्षेत्रमा भईरहेको अराजकता अन्त्यको लागि शिक्षामन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्वविद्यालय र मेडिकल कजेजको मिलेमतोमा प्रत्येक ६ महिनामा एमबिबिएस कक्षामा १ सय जना विद्यार्थी भर्ना गर्न पाउने गरि नियमावलि सशोधन गरिएको बारे सदनलाई जानकारी गराउन पनि माग गर्नुभयो ।




