काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै आपत्ति जनाएको छ ।
सोमवार बसेको संसदको बिधायन व्यवस्थापन समितिको बैठकमा नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले वनको व्यवस्थापनमा संघीय सरकारले हस्तक्षेप गर्ने गरी विधेयकको सैद्धान्तिक अवधारणा आएको दावी गर्दै आपत्ति जनाउनु भएको हो ।
उहाँले वन संरक्षणको लागि सुरक्षाकर्मी परिचालन गर्ने कुरा संघीय सरकारको मातहत रहने गरी कानुन बनाउन खोजिएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गर्नु भयो ।
सांसद अधिकारीले संघीयतमा गएपछि वन व्यवस्थापनको सम्पूर्ण अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने संवैधानिक व्यवस्था विपरित सरकारले सो विधेयक ल्याएको दावी गर्दै मान्य नहुने अडान पनि राख्नु भयो ।
यता, वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर विश्वनाथ ओलीले भने सुरक्षाकर्मीहरु संघीय सरकारको मातहत हुने भएकाले वन व्यवस्थाका लागि उनीहरुलाई परिचालन गर्ने अधिकार संघीय सरकारले नै गर्नेगरी कानुनी व्यवस्था गर्न लागिएको स्पष्टिकरण दिनु भएको थियो । विधेयकमा वन रक्षकको रुपमा आवश्यक्ताका आधारमा सबै सुरक्षा निकाय परिचालन गर्ने प्रस्ताव पनि गरिएको छ ।