एजेन्सी, १३ भदौ । भारत प्रशासित जम्मू–कश्मीरमा सेना तथा सुरक्षाकर्मीले सर्वसाधारणमाथि गम्भीर अत्याचार तथा यातना दिएको आरोप लागेको छ । भारत सरकारले यही अगस्ट ५ मा संविधानमा रहेको धारा ३सय ७० निष्प्रभावित घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको थियो ।
कश्मीरको स्वायत्तता खोसिएपछि त्यहाँ सुरक्षाकर्मीको तैनाथी अत्याधिक पारिएको छ । सञ्चार सुविधा अधिकांश रुपले बिच्छेद गरिएको छ।सरकारी निर्णयको विरोध गर्नेलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । बिरोध गर्नेलाई सुरक्षाकर्मीले कुटपिट तथा गम्भीर यातना दिएको आरोप लागेको छ ।
सुरक्षाकर्मीले स्थानीय बासिन्दालाई कुटपिट गरेको आरोप छ । धेरै स्थानीय बासिन्दाले आफूहरुलाई लौरो तथा तारले कुटेको तथा इलेक्ट्रिक सक लगाईएको बताएका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन ।
यसैबिच मानवाधिकारवादी संस्था ह्युमन राइट्स वाचले भारतको आलोचना गरेको छ । जम्मू–कश्मीरमा इन्टरनेट था टेलिफोन सेवा बन्द गरिँदा त्यहाँका बासिन्दा समस्यामा परेको भन्दै उसले गम्भीर चासो देखाएको हो । अत्यावश्यक सेवा तत्काल सुचारु गर्न ह्युमन राइट्स वाचले भारत सरकारसंग आग्रह गरेको छ ।