विवादित न्यायाधीश यादवले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

विवादित न्यायाधीश यादवले दिए राजीनामा

rajinama

काठमाडौं, ९ भदौ । विवादित आदेश दिएको भनी विवादमा परेका उच्च अदालत पोखराका न्यायाधीश रामचन्द्र यादवले न्यायपरिषद्मा आइतबार राजीनामा दिएका छन्। न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएको केहीदिनमै यादवले पनि अधिकारीकै पदचाप पछ्याएका छन्।

गोरखा ब्रुअरी र आन्तरिक राजस्व कार्यालय बीच चलेको विवादको सुनुवाइमा गोरखा बु्रअरीको पक्षमा अन्तरिम आदेश दिएको अभियोगमा न्यायपरिषद्ले अनुसन्धान सुरु गरेपछि उनीहरूले राजीनामा दिएका हुन्। आफूमाथि कारबाही हुनसक्ने भएपछि उनीहरूले कारबाहीबाट बच्न राजीनामा गरेको अनुमान गरिएको छ।

सोही आरोप खेपिरहेका न्यायाधीश अधिकारीले भदौ २ मा राजीनामा दिएका थिए। न्यायाधीश यादवले प्रधानन्यायाधीश तथा न्यायपरिषद्का अध्यक्ष चोलेन्द्रशमशेर जबरासमक्ष राजीनामा दिएका छन्। न्यायाधीश यादवले सोधपुछको लागि न्यायपरिषद्वारा गठित सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको अध्यक्षताको छानबिन समितिमा उपस्थित भई आफ्ना कुरा राखिसकेपछि राजीनामा गरेको सूत्रहरूको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।