काठमाडौं, ८ भदौ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । यो भाउ नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको जनाएको छ । यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो । जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो । त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो ।
यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो । अन्तराष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी एक तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ । चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । चाडपर्व नजिकिएसंगै सुनको मूल्य वृद्धि भएपछि सुन खरीद गर्नेहरु घटेका छन् ।