काठमाडौं, ६ भदौ । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक नराखे कारबाही थाल्ने भएको छ । सरकारले लामो दूरीमा चल्ने यातायातमा दुई चालक नराखी चलाएमा गाडी मालिक र कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।एक जना मात्र चालक हुँदा चालक थकान र निदाउनाले बस दुर्घटना बढेको भन्दै सरकारले नियम कार्यान्वयनमा कडाइ गर्न लागेको हो ।
यातायात व्यवस्था विभागले केही दिनअघि मात्र एक सूचना जारी गरी लामो दूरीमा दुई चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो । विभागले प्रस्थान बिन्दुबाट २५० किमि वा त्योभन्दा बढी दूरीमा चल्ने गाडीले अनिवार्य दुई चालक नराखेको पाइए सवारी धनी या कम्पनीलाई नियन्त्रणमा लिई कारबाही गर्ने जनाएको हो ।
विभागले लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए÷नभएको देशभर अनुगमन गर्ने र दुई चालक नराखेको पाइएमा कानुनी कारबाही गर्ने जनाएको छ । ‘लामो बाटोमा सञ्चालन हुने सार्वजनिक सवारी सञ्चालकले ऐनको उपरोक्त प्रावधानको अनिवार्य रूपमा कार्यान्वयन गर्नु गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ ‘सोअनुसार गरेको नपाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बेहोरासमेत जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६÷६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ ।
सरकारले यसअघि पनि एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण दुर्घटना बढेको भन्दै नियमको कडाइ गरेको थियो । केही समययता भने लामो दूरीमा चल्ने यातायातमा दुई चालक भए नभएको बारे चेकजाँच प्रायः शून्यजस्तै छ । विभागले मध्यम दूरीमा गाडीका चालकलाई प्रत्येक ४ घण्टामा आधा घण्टा विश्राम दिने व्यवस्थालाई समेत कडाइका साथ पालना गर्न आग्रह गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।




