काठमाडौं, ६ भदौ । गुठीको अधिकार नै नभएको एक संस्थाले अनधिकृत रूपमा गुठी जग्गा भाडामा लगाएको पाइएको छ । काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौरमा रहेको हरिहर नारायण गुठीको नाममा रहेको गुठी तैनाथी जग्गा संस्कृति संरक्षण समितिको नामबाट सत्यसाई केन्द्रलाई अनधिकृत रूपमा भाडामा दिएको पाइएको हो ।
नारायणचौरस्थित हरिहर नारायण गुठीका नाममा रहेको कित्ता नम्बर ८७० को ६ रोपनी १४ आना ३ दाम १ पैसा गुठी तैनाथी जग्गालाई मिलेमतोमा अवैध रूपमा भाडामा दिएको पुष्टि भएको छ । गुठी संस्थानले बिनाटेन्डर सो संस्थालाई प्रचलित भाडादरभन्दा न्यून मूल्य लिएको राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले औंल्याएको छ । सर्तकता केन्द्रका अनुसार ६ भदौ २०४८ मा गुठीको नाममा आएको जग्गा २३ कात्तिक २०५५ देखि भाडामा संस्थाले भाडामा लगाएको पाइएको हो । संरक्षण समितिले गुठी संस्थानबाट भाडामा लिने क्रममा पुनः भाडामा लगाउन नपाइने सम्झौता गरेको थियो । तर, यसलाई बेवास्ता गर्दै गुठी जग्गालाई आफ्नो नामबाट भाडामा लगाएको पाइएको छ । समितिले हरिहर नारायण मन्दिरमा पूजा पाठ तथा जग्गा उपयोग गर्न पाउने सम्झौता गरेको थियो ।
सम्झौताअनुसार गुठी सस्थानसँग सत्यसाई केन्द्र र हरिहर नारायण समाजले मासिक ३/३ हजारका दरले बहाल तिर्ने र प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा बढाउने उल्लेख रहेको केन्द्रले जानकारी दिएको छ ।
संरक्षण समितिले गुठी तैनाथीलाई भवन निर्माणसमेत गर्र्न पाउनेगरी सम्झौता गरी भाडामा लगाएको देखिएको छ । यस सम्बन्धमा संस्थानलाई जानकारी हुँदाहुँदै तत्कालीन संस्थानका पदाधिकारीहरूले आफ्नो जिम्मेवारी पूरा नगरेको सर्तकता केन्द्रको छानबिनको ठहर छ । केन्द्रले नापी कार्यालय डिल्लीबजारमा रहेको श्रेष्तामा गुठी संस्थानकै नाम रहेको र नक्सा तथा फिल्डबुकमा समेत संस्थानकै रहेको पाइएको उल्लेख गरेको छ । यद्यपि, संरक्षण समितिले भने आफ्नो नामबाट अर्को संस्थालाई भाडामा उपलब्ध गराएको छानबिनका क्रममा पत्ता लागेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।