काठमाडौं, ४ भदौ । ६ करोड रुपैयाँभन्दा बढी खर्च गरेर किनिएका नयाँ गाडी चलाउन नपाउँदै बिग्रिएपछि संघीय संसद्ले छानबिन सुरु गरेको छ । यसका लागि छानबिन समिति नै गठन गरिएको हो । समितिका सभापतिहरूलाई साउन पहिलो साता दिइएको ११ मध्ये पाँच वटा गाडी बिग्रिएका हुन् ।
कुनै गाडीको ढोका नखुल्ने, कुनैको ब्रेक नलाग्ने त कुनै चल्दै नचल्ने समस्या देखिएको छ । गाडी बिग्रिएपछि संघीय संसद्का समिति सभापतिहरूले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालाई गुहारेका थिए । सभामुख र अध्यक्षसहित समिति सभापतिहरूको संयुक्त बैठकले गाडीबारे छानबिन गर्ने निर्णय गरी अघिल्लो साता छानबिन समिति गठन गरेको थियो । राज्य व्यवस्था समिति सभापति शशि श्रेष्ठ, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदी, महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्था समितिका सभापति रामनारायण बिडारीलगायत चढ्ने गाडीमा समस्या आएपछि छानबिन सुरु गरिएको हो ।
संसदीय समिति सभापति बिडारीले आफूलाई दिएको गाडीमा सुरुदेखि नै समस्या देखिएको बताए । ‘जुन दिन सचिवालयले नयाँ गाडी दियो, त्यही दिनदेखि स्टार्ट गर्दा नै समस्या छ । ड्राइभरले नक्कली पार्टपुर्जा छ भनेका छन्’ उनले भने, ‘यो बनाउन पठाऊभन्दा सचिवालयले कुनै चासो नदेखाएपछि सभामुख र अध्यक्षलाई हामीले जानकारी गराएका थियौं ।’ सोही जानकारीपछि सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको उपस्थितिमा छानबिन समिति गठन गरिएको थियो । संसदीय समितिका सभापतिहरूले गाडी खरिदमा भएको अनियमितताबारे छानबिन गर्न सुरु गरिएको बिडारीले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।