संसद्लाई खरिद गरिएका गाडीमा प्राविधिक समस्या, अनियमितताको आशङ्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसद्लाई खरिद गरिएका गाडीमा प्राविधिक समस्या, अनियमितताको आशङ्का

samsadh gadi

काठमाडौं, २८ साउन । सङ्घीय संसद्मा समिति सभापतिका लागि खरिद गरिएका गाडी हस्तान्तरण भएको एक महिनामै प्राविधिक समस्या देखिएपछि खरिद प्रक्रियामा छानबिनको तयारी थालिएको छ ।

गत शुक्रबार सभामुख कृष्णबहादुर महरा र समिति सभापतिहरूको छलफलमा गाडीको विषय प्रवेश भएपछि छानबिन प्रक्रिया अगाडि बढाउन लागिएको हो । सभामुख महराले आइतबार राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिसमेत रहनुभएका रामनारायण बिडारीसहित सङ्घीय संसद्का तीन सदस्यलाई छानबिन प्रक्रिया अगाडि बढाउन अख्तियारी दिनुभएको छ । औपचारिक रूपमा समितिलाई पत्र दिइएको छैन ।

सभापति बिडारीसहित प्रतिनिधिसभाका दुई समिति सभापतिलाई छानबिनका लागि अख्तियारी दिइएको हो । कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल र सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहलाई छानबिन प्रक्रिया अगाडि बढाउन सभामुखले आग्रह गर्नुभएको हो । सभामुखले छानबिनबारे टेलिफोनमार्फत जानकारी गराउनुभएको बिडारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘छानबिनको प्रक्रिया अघि बढाउन जानकारी आएको छ तर औपचारिक रूपमा कुनै पत्र पाएको छैन ।’’

गाडीमा प्राविधिक समस्या देखिएको चालकको गुनासोपछि सभापतिहरूले सभामुखसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए । गाडीप्रति सभापतिहरूको असन्तुष्टिपछि सभामुखले छानबिनको आश्वासन उक्त बैठकमै दिनुभएको थियो ।

सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । तीमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् । सचिवालयले महिन्द्रा एस–फाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ ।

पहिलो र दोस्रो चरणमा खरिद गरिएका दुवै गाडी समिति सभापतिहरूलाई दिइएको छ । सभापतिहरूले बारम्बार गाडी पुरानो भएको दबाब दिएपछि सचिवालयले नयाँ गाडी खरिद गरेको थियो । पछिल्लो चरणमा सचिवालयले पाएका ११ गाडीमा प्राविधिक समस्या देखिएको हो । गाडीमा गेयर, भाइजर, स्पिकर, ढोकालगायतमा समस्या देखिएका छन् । कतिपय समस्या सामान्य प्राविधिक भए पनि एउटा गाडीमा भने बढी समस्या देखा परेको सचिवालयको दाबी छ । उक्त गाडी प्रक्रियागत रूपमा फिर्ता गरेर नयाँ अर्को गाडी दिन आपूर्तिकर्ता कम्पनी तयार भइसकेको पनि सचिवालयका एक अधिकारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);