इलाम, ३ भदौ । इलाममा आगामी असोजमा इलाम साहित्य महोत्सव हुने भएको छ । इलाम भर्खरै स्थापना भएको इलाम साहित्य समाजले असोज ३ र ४ गते इलाम साहित्य महोत्सव गर्ने भएको हो ।
नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर महोत्सव गर्न लागिएको समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो । इलाम सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराइएको हो ।
महोत्सवमा नेपालका चर्चित लेखक, साहित्यकार, कलाकार, अभिनेत्रीलाई भित्र्याइने लक्ष्य राखिएको छ । कार्यक्रम अन्तर्गत साहित्यसँगै जिल्लाका पर्यटक भित्र्याउनका लागि पहल गरिने छ । दुईदिनको अवधिमा देश विदेशमा भएका साहित्यकारहरुलाई नेपाल ल्याउनकालागि पहल भइरहेको समाजका सचिव रोशन राइले बताउनु भयो ।
कार्यक्रम सम्पन्न गर्न २५ लाख खर्च हुने अनुमान गरिएको छ । साहित्यसँगै इलामको पर्यटन प्रवद्र्धनमा यस महोत्सव फलदायी बन्ने भएकाले महोत्सवपछि इलाममा अझ बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।