काठमाडौं, ३ साउन । अफगानिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्दै अफगानिस्तानले पहिलो जित निकालेको हो ।
लगनखेल स्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा अफगानिस्तानले बंगलादेशलाई २५–२१, १९– २५, १८–२५,२५–२३ र १५–१२ को सेटमा पराजित गर्यो । जितसँगै समूह ’बी’ को अफगानिस्तानले २ खेलबाट २ अंक जोडेको छ । जितसँगै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायम राखेको छ ।
पहिलो खेलमा अफगानिस्तान तुर्कीमीनिस्तानसँग पराजित भएको थियो । बंगलादेशको यो लगातार दोस्रो हार हो । हारसँगै बंगलादेशको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा बंगलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो ।