सुरेन्द्र भण्डारी
झापा, ३ भदौ । झापाका अधिकांश पिउने पानीको गुणस्तर न्यूनतम पिएच भन्दा कम पाइएको छ । खाद्य प्रविधि तथा गुणस्तर विभागले पिउन योग्य पानीको न्यूनतम पीएचको मात्रा ६ देखि ८.५ प्रतिशतसम्म हुनु पर्ने प्रावधान बनाएको छ ।
तर झापको विर्तामोडमा मगंलबार विभिन्न २० ब्राण्डको पानीको नमुना संकलन गरी गरिएको परिक्षणमा अधिकांस न्यूनतम पीएच भन्दा कम भएको पाईएको छ । ‘पिउने पानीको गुणस्तर : अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको कार्यशाला स्थलमै बजारबाट संकलित पानीको नमूनाको पिएच परीक्षण गरिएको थियो ।
त्यसक्रममा बिर्तामोडबाटै उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित माईधाम नामक पानीमा पिएचको मात्रा न्यून पाइएको हो ।
पिएचको मात्राको दृष्टिकोणले पिउन सबैभन्दा उत्तम पानी सुनमाई झरना पाइएको थियो । बिर्तामोड खानेपानीसहित विभिन्न १८ ब्राण्डका पानी झापाबाट उत्पादित र अन्य दुईवटा झापा बाहिर उत्पादन भई झापाको बजारमा आउने पानीको समेत पिएच परीक्षण गरिएको हो ।
संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो ।
त्यस्तै उपभोक्ता हित संरक्षणका लागि नियमित रुपमा पिउने पानी उत्पादन र बिक्री वितरणको अनुगमन तथा नियमन गर्ने प्रतिबद्धता समेत नियमनकारी निकायको तर्फबाट व्यक्त गरिएको छ ।
नेपाल गुणस्तरले ६ देखि ८.५ पिएचसम्मको पानीलाई पिउन योग्य भनेको छ । तर, अन्तर्राष्ट्रिय गुणस्तरले ६.५ देखि ८.५ पिएचसम्मको पानीलाई पिउन योग्य मानेको छ । पानीमा ७ पिएच सबैभन्दा उत्तम मानिन्छ ।
६ पिएचभन्दा तलको पानीलाई अम्लिय अर्थात् एसिडिक भनिन्छ । ८.५ पिएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । नेपालमा उत्पादित धेरै पानीमा पिएचको मात्रा न्यूनतम्भन्दा कम रहेको बताइन्छ । ६ पिएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घरोग लाग्ने विज्ञहरुले बताएका छन् ।