एजेन्सी, १ भदौ । विश्व टेष्ट च्याम्पियनसिप क्रिकेट अन्तर्गत श्रीलंकाले पहिलो टेष्टमा न्युजिल्याण्डलाई ६ विकेटले हराएको छ । आइतबार भएको खेलमा पाहुना टोली न्युजिल्याण्डलाई पहिलो टेष्टमा हराएसँगै श्रीलंकाले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
गल्ले अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा न्युजिल्याण्डले दिएको २ सय ६८ रनको लक्ष्य श्रीलंकाले टेष्टको चौंथो दिन आइतबार ८६ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि पहिलो इनिङ्समा न्युजिल्याण्ड २ सय ४९ रन जोड्दा अलआउट भएको थियो । दोस्रो इनिङ्समा न्युजिल्याण्डले २ सय ८५रन बनाएको थियो । श्रीलंकाले भने पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ६७ रन जोडेको थियो ।