पुष्पा पोखरेल
काठमाडौं, २८ साउन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले मुलुकको समृद्धिका लागि नवप्रवद्र्धन भन्ने कार्यक्रम अघि सारेको छ । युवा पुस्तालाई विज्ञान तथा प्रविधिमा थप हौसला पु-याउनुका साथै नवप्रवर्द्धन के हो ? प्रवर्द्धन कसरी गर्ने ? र नवप्रवर्द्धनमार्फत देशव्यापी रुपमा समृद्धि कसरी हासिल गर्ने भनी जान्नु कार्यक्रमको उद्देश्य हो । देशको समग्र विकासका लागि वैज्ञानिक र दक्ष प्राविधिक जनशक्ति अहिले नेपालको लागि जल्दोबल्दो आवश्यकता हो ।
सरकारले पनि समृद्धिका लागि प्रविधिको विकास र वैज्ञानिकको उत्पादनमा सक्दो प्राथमिकता दिने बताउंदै आएको छ । विज्ञान र प्रविधि कुनै पनि देशको समृद्धिसंग प्रत्यक्ष सम्बन्ध राख्ने विषय हो ।
विश्वका समृद्धि देशहरुको पछाडि विज्ञान तथा प्रविधिको अहम भुमिका हुन्छ । तर नेपालमा भने त्यसो हुन सकेको छैन । यसै कुरालाई मध्यनजर गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले यहि आर्थिक वर्षदेखि समृद्धिका लागि नवप्रवर्द्धन भन्ने कायक्रम अगााडि सारेको छ । विज्ञान र प्रविधि सम्बन्धी राष्ट्रिय ढाँचा तयार नभइसकेको अवस्थामा यस्तो कार्यक्रमले केहि हदसम्म सहयोग पु-याउने अपेक्षा गरिएको छ ।
अहिलेको संसारमा आफ्नो देश अनुकुलको विज्ञान र प्रविधिको विकास नगरी आर्थिक विकास मात्र गर्छु भन्ने कुरा कोरा कल्पना मात्र हो । यसले मुलुकलाई समृद्ध बनाउन सक्दैन ।
आज विश्वका विकसित देशहरुको इतिहासलाई हेर्दा विगतमा उनीहरुले गरेको विज्ञान तथा प्रविधिको क्षेत्रमा बृहत लगानीको परिणाम मान्न सकिन्छ । नेपालमा विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना पनि गरिएको छ ।
विज्ञान तथा प्रविधिको रुपमा पछिल्लो समय लगानी पनि गरेको छ । नेपाल सरकारले विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यकता भन्दा धेरै लगानी गरेको बताइरहँदा वैज्ञानिकहरु विज्ञान तथा प्रविधिको क्षेत्रमा सरकारको लगानि पर्याप्त नभएको गुनासो गरिरहेका छन ।
विज्ञान र प्रविधि देश विकासको प्रमुख आधार मानिन्छन तर देशमा समृद्धि ल्याउन कतै न कतै चुकेको महशुस स्वयम वैज्ञानिकहरु नै गरिरहेका छन् । विज्ञान, प्रविधि र नविनतम पद्दतिको प्रयोग गर्देै विकसित देशहरुले विश्वमा थप प्रभावकारीता झल्काइरहेका छन् ।
तर नेपालमा भने विज्ञान तथा प्रविधिको क्षेत्रमा नविनतम प्रयोग भएको पाइँदैन । सरकारले समृद्धिको सपना बोकेको छ । समृद्धिको लक्ष्यमा पुग्ने हो भने सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा छिटो फड्को मार्ने नीति ल्याउन जरुरी छ ।