तिब्बतीलाई छोरी बनाएर नागरिकता | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

तिब्बतीलाई छोरी बनाएर नागरिकता

nagarikata

काठमाडौं, २७ साउन । झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना पक्राउ परेका छन् । तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता दिलाउने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने दुई युवती र साक्षी बसेका ५ जनालाई प्रहरीले पक्रेको हो ।

थापाले तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता लिएको प्रशासनले जनाएको छ । तिब्बती बाबु र नेपाली आमाबाट जन्मिएका दुई जनाले नागरिकता लिएका थिए ।

सरु थापामगर र तासी आङ्मो थापामगरले गत जेठ २६ र असार ६ मा नेपाली नागरिकता लिएका हुन् । सरुका नाममा ४६–०१–०७६–२०३९ र तासी आङ्मोको नाममा ४६–०१–०७६–०१६३३ नम्बरको नागरिकता जारी भएको छ । सुरुको उमेर २७ वर्ष र तासीको २६ वर्ष भनिएको छ । दिदीबहिनीको उमेरको फरक ७ महिना मात्रै छ ।

छोरी भनेर सनाखत गर्ने लेखबहादुर थापा, साक्षीहरू ज्ञानबहादुर थापा क्षत्री, सन्तोष थापामगर, कमल थापामगर र इमा थापामगर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुई दिदीबहिनी पनि छन् । तिब्बतीलाई नागरिकता दिएको विषय गाइँगुइँ चलेपछि प्रशासनले दुवै नागरिकता नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अनुसन्धानपछि ८ जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए । थप अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । थापाले दुवै आफ्नो छोरी भएको भने पनि अनुसन्धानमा छोरी नभएको प्रमाण भेटिएको प्रशासनले जनाएको छ ।

वडामा पहिले बाबुको नाम र पछि हजुरबुबा लेखबहादुर थापाको नाम उल्लेख भएको जन्मदर्ता भेटिएको छ । थापाको एक छोरी तिब्बतीयन नागरिकसँग विवाह गरेको र उनीहरूका २ छोरीलाई वंशजका आधारमा नागरिकता दिन लगाउन उनले झूटो विवरण पेस गरेको खुलेको बुढाले बताए । उनका अनुसार विद्यालयको अभिलेखमा समेत उनीहरूको वास्तविक बाबुको नाम उल्लेख छ । ‘अनुसन्धानपछि तिनीहरू उनको छोरी नभएको खुलेपछि पक्राउ गरिएको हो,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);