काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामको पहिलो सचिवालय बैठकले नै उल्लेखनीय काम गरेको छ । बैठकले पार्टी एकीकरणपछि पनि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ ।
नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नं– १ को पूर्व एमालेका टेकबहादुर राई प्रमुख भएका छन् भने पूर्व माओवादीका राजकुमार राई उपप्रमुख तोकिएका छन् ।
यस्तै क्षेत्र नं–२ मा पनि पूर्व एमालेकै गणेशप्रसाद बराल प्रमुख तोकिएका छन् । त्यहाँ उपप्रमुखमा पूर्व मोओवादीका अनिल बराइलीलाई चयन गरिएको छ ।
नेतृत्व विभाजनपछि नेकपाको महत्वपूर्ण विभाग पूर्व एमालेको भागमा परेको देखिन्छ भने निर्वाचन क्षेत्रको नेतृत्व पनि दुई क्षेत्रमा पूर्व एमालेकै पहुँचमा रहेको देखिन्छ । पार्टीका अर्थ तथा योजना, कृषि तथा भूमि सुधार, कोष तथा लेखा, निर्वाचन विभाग, पर्यटन प्रवद्र्धनलगायतका विभाग पूर्व एमालेको भागमा परेका छन् भने खानेपानी तथा सरसफाइ, स्कुल विभागलागयतका विभाग पूर्व माओवादीको भागमा परेको देखिन्छ ।
बैठकले ४३ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठनसमेत गठन गरेको छ । उक्त कमिटीको अध्यक्षमा लालबहादुर सुब्बा, सचिवमा तिलकसिंह साउदेन र सदस्यमा पूर्णबहादुर बस्नेत रहेका छन् ।
बैठकले २३ वटा विभाग गठन गरी संयोजक र सहसंयोजकको पनि टुङ्गो लगाएको छ । बैठकले अर्थ तथा योजना विभागको प्रमुखमा गणेशप्रसाद बराल, उपप्रमुखमा जीवन शर्मा ढुङ्गानालाई चयन गरेको छ भने सदस्यमा काजीमान कागते, याम अधिकारी, धनबहादुर गुरुङ, डा देवी दुलाल र सञ्जीप राई रहेका छन् । उद्योग तथा वाणिज्य विभागको प्रमुखमा भोजप्रसाद खतिवडा र उपप्रमुख नरेश तामाङलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै पार्टीको उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा शोभा पराजुली र उपप्रमुखमा गीताराम रसाइलीलाई तोकिएको छ । कृषि तथा भूमिसुधार विभागको प्रमुखमा टेकबहादुर राई र उपप्रमुखमा राम सञ्जेल रहेका छन् । कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराई र उपप्रमुखमा धीरेन चेम्जोङ रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।