प्रधानमन्त्रीको उपचार आफ्नै खर्चमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्रीको उपचार आफ्नै खर्चमा

kp oli

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार आफ्नै खर्चमा हुने सरकारले स्पष्ट पारेको छ। स्वास्थ्य उपचारका लागि शनिबार सिंगापुर गएका ओलीले आफ्नै खर्चमा उपचार गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

‘प्रधानमन्त्रीको आउने–जाने प्लेन खर्च सरकारले व्यहोर्छ। उपचारमा लाग्ने सबै खर्च प्रधानमन्त्री स्वयंले व्यहोर्नुहुनेछ,’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीसँग जाने कर्मचारीले टीएडीए पनि पाउँदैनन्।’

प्रधानमन्त्रीको टोलीमा धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यसिंह शाहसहित नौ सदस्य छन्। ओली एक सातापछि स्वदेश फर्किने कार्यक्रम छ।

मन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाभित्र संकट आएको टिप्पणी गरे। केही दिनअघि विप्लवले पार्टी स्थायी समिति भंग गर्दै केही नेताको घटुवा गरेको प्रसंगमा मन्त्री बाँस्कोटाले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

‘कार्यसमिति भंग भयो, केही नेताको घटुवा पनि भयो भन्ने सुनेको छु, त्यहाँ संकट पैदा भइसकेको छ,’ उनले भने, ‘यो स्वाभाविकै हो। गलत बाटो हिँड्दा आधा बाटो पुग्दा जो ब्युँझन्छ, उसले भीरको बाटो हिँड्न मान्दैन। निद्रामा दौडाइरहेको छ भने क्रान्तिको रुमानी सपनामा अल्झनसक्छ तर जब ब्युँझन्छ, यो प्रतिक्रान्तिको बाटो हो भन्ने बुझ्छ र फर्किन्छ।’

मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नेपाली नागरिकता प्राप्त गरेका आठ जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको छ। अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी वैवाहिक अंगीकृत), सोसिल महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता रद्द गरी नेपाली नागरिकको सूचीबाट हटाइएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);