काठमाडौं, २० साउन । संघीयता कार्यान्वयन भएको तीन वर्ष भइसक्दा पनि प्रमुख राजनीतिक दलका संगठन तीन तहको संरचनाअनुरूप सञ्चालन हुन सकेका छैनन् । प्रमुख सत्तारूढ दल नेकपाले संघीयताअनुसार पार्टी संरचना निर्माण गरे पनि ती संक्रमणकालीन अवस्थामै छन् ।
पार्टीको केन्द्रीय निकाय एकीकृत भइनसकेकाले तल्ला संरचना कामकाजी हुन सकेका छैनन् । प्रमुख प्रतिपक्ष कांग्रेसले अझै प्रादेशिक संरचना बनाउन सकेको छैन । त्यस विषयमा बल्ल छलफल सुरु भएको छ ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण भएर बनेको समाजवादी पार्टीको संघीय संरचनाअनुसार तल्ला तहसम्म कमिटी छन् । त्यसलाई समायोजन गर्न व्यस्त छ । चुनावअघि ६ वटा पार्टी मिलेर बनेको राजपाले पुरानै संरचनालाई मिलाएर काम चलाइरहेको छ । प्रादेशिक संरचना तयार गर्न सकेको छैन । पार्टी एकीकरण भए पनि कुनै पनि संगठन समायोजन भएका छैनन् ।