काठमाडौं, १९ साउन । उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
आइतबारबाट ललितपुरमा शुरु भएको व्यवस्थापन गोष्ठीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढि हुने गरी वृद्धि गरेको उल्लेख गर्दै सरकारको आलोचना गर्नु भएको हो । उहाँले स्थानीय तहमा समेत गरी दोहोरो करको मारमा पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले सरकारले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था गर्न नहुने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गर्नु भयो ।
उपाध्यक्ष प्रधानले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।