एजेन्सी, १६ साउन । अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएका छन । पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए ।
अमेरिकी संचारमाध्यमका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको हवाई आक्रमणमा मृत्यु भएको पुष्टी गरेको जनाएको छ । तर ती अधिकारीहरुले हम्जाका बारेमा थप विवरण दिन अस्वीकार गरेका छन् । हम्जाको मृत्युका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप टिप्पणी गर्न नचाहेको बताएका छन् ।
सन् २०१९ फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हम्जाको बारेमा जानकारी दिनेलाई १० लाख अमेरिकी डलर तोक्नुअघि नै उनको मृत्यु भइसकेको अनुमान गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रुपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ ।
’जिहादी राजकुमार’ का रुपमा समेत लिइने हम्जाले बेलाबखत अडियो र भिडियो सन्देश मार्फत अमेरिका र उसका समर्थक मुलुकमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए ।




