एनसेलद्वारा अर्कै शीर्षकमा २ अर्ब कर छली | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

एनसेलद्वारा अर्कै शीर्षकमा २ अर्ब कर छली

Ncell-logo

काठमाडौं, १५ साउन । पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो ।

कर निर्धारणमा चित्त नबुझेपछि एनसेलले आन्तरिक राजस्व विभागका महानिर्देशकले नेतृत्व गर्ने प्रशासकीय पुनरावलोकनमा मुद्दा दायर गरेको छ । प्रशासकीय पुनरावलोकनमा कर अधिकृतले कर निर्धारण गर्दा विधिवत् ढंगले गरे/नगरे वा चाहिनेभन्दा बढी कर लगाएको विषय हेरिन्छ ।

‘विदेशबाट नेपालस्थित एनसेलको नम्बरमा कल आउँदा र विदेशस्थित कुनै दूरसञ्चार कम्पनीको नम्बरमा एनसेलबाट फोन सम्पर्क हुँदा समय अवधिअनुसार एकले अर्कोलाई इन्टर कनेक्सन शुल्क तिर्नुपर्छ,’ कर प्रशासनका एक अधिकारीले भने, ‘त्यस्तो रकम विदेशी दूरसञ्चार कम्पनीबाट कम आम्दानी गर्ने र नेपालबाट विदेशस्थित कम्पनीमा बढी भुक्तानी गरी धेरै खर्च देखाएर कर छली गरेको भेटियो ।’ नेपालमा समेत खर्च बढी र आम्दानी कम देखाई केही अंश कर छली गरेको ती अधिकारीले बताए ।

उक्त विवरणहरूको अध्ययन गरी ठूला करदाता कार्यालयले करिब दुई महिनाअघिबाट कर निर्धारण प्रक्रिया अघि बढाएको थियो । कर निर्धारणको सबै काम सकिएपछि उसले विभागका महानिर्देशकसमक्ष प्रशासकीय पुनरावलोकनका लागि निवेदन दर्ता गराएको छ । निवेदन दर्तापछि कर असुली प्रक्रिया प्रभावित छ ।

‘अन्य केही बहुराष्ट्रिय कम्पनीको पनि यस्तै प्रकृतिले कर छली गरेको भेटिएको छ । केही बहुराष्ट्रिय कम्पनीमाथि कर निर्धारण गरिसकेका छौं । केहीको गर्दै छौं,’ ती कर अधिकृतले भने, ‘आम्दानी कम र खर्च बढी देखाई नेपालमा लाग्ने कर छल्नुलाई ट्याक्स प्लानिङ भनिन्छ । यस्तो प्रक्रियामार्फत सबैभन्दा धेरै एनसेलले कर छली गरेको भेटिएको हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);