नेपालको पहिलो खेल भारतसंग –
काठमाडौं, १४ साउन । भारतमा आगामी अगष्टमा आयोजना हुने यू–१५ पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल घरेलु टोलीसँग खेल्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी भारत परेको हो । नेपाल र भारतबीचको खेल अगष्ट २१ मा कल्याणी रंगशालामा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगष्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगष्ट २७ र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछ । पाँच टिम रहेको प्रतियोगिताको शीर्ष २ टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
गत संस्करणको प्रतियोगिता नेपालले आयोजना गरेको थियो । बंगलादेशले उपाधि जितेको उक्त प्रतियोगितामा नेपाल चौंथो भएको थियो ।