काठमाडौं, १० साउन । आवरणमा स्कुल विभाग कसले लिने भन्ने रस्साकसी देखिए पनि खासमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञान हाबी भएको छ । पार्टीलाई वैचारिक रूपमा आफ्नो पक्षले नेतृत्व गरेको छ भन्ने देखाउनकै लागि दुवै पक्षले यही विभाग दाबी गरिरहेका छन् ।
चुनावी गठबन्धन गर्दै दुई तिहाइको सरकार बनाएको नेकपा अहिले एउटा विभाग कुन नेतालाई दिने भन्ने विवादमा अल्झेको छ । पार्टी एकताको अन्तिम काम अब विभागहरूलाई पूर्णता दिने मात्र छ । यही काम पूरा गर्न शीर्ष नेताहरूलाई स्कुल विभागले हम्मे पारेको छ ।
आन्तरिक विवादकै कारण सचिवालय बैठक रोकिएको रोकियै छ । सचिवालयमै रहेका दुई नेता नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले एउटै विभाग दाबी गरेपछि चर्किएको विवादमा अहिले घनश्याम भुसाल, वेदुराम भुसाल पनि मिसिएका छन् । विभागमा आ–आफ्नो दाबी गर्दै नेताहरूले आन्तरिक लबिइङ तीव्र पारेका छन् । यही प्रकरणले नेकपाको एकता ‘हात्ती छिर्यो पुच्छर अड्कियो’ जस्तो अवस्थामा छ । एउटा विभागलाई लिएर शीर्ष नेताहरूको यो ढंगको रस्साकसीलाई केन्द्रीय समितिमा रहेका नेताहरू अनुपयुक्त ठान्छन् ।
‘दुई पार्टी मिलेर एकता भएको हो । त्यसैले यो समझदारीमा चल्ने हो, कसले कसलाई दिने र लिने भन्ने ढंगले कुरा हुनुहुँदैन, शीर्ष नेताहरू एउटा समझदारीमा जानुपर्यो,’ नेकपाका केन्द्रीय नेता राजेन्द्र गौतमले भने, ‘यो नगर्ने हो भने सचिवालयका नौ जना नेताले नै कुनै विभाग राख्न भएन, त्यसभन्दा तलका नेतालाई दिनुपर्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।