काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने मन्त्री तथा सचिवहरूको पद धरापमा पर्ने चेतावनी दिनु भएको छ । प्रधानमन्त्री ओलीले काम नगर्ने कसैलाई पनि नछाड्ने चेतावनी पनि दिनु भएको हो ।
शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रालयगत प्रगति तथा समीक्षा कार्यक्रममा ओलीले मन्त्रीहरूलाई दर्जनौं प्रश्न सोध्नु भएको थियो । उहाले आफूलाई मेलम्ची खानेपानी आयोजना, भारतबाट आयात गरिने तरकारीमा विषादी परीक्षण गर्ने निर्णयलगायतमा झुक्याइयो भन्दै असन्तुष्टि पोख्नु भएको हो ।
प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूको कामको तालमेल नमिलेको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाउनु भएको हो । ‘मन्त्रीले एउटा भन्ने तर सचिवले अर्कै गर्ने, यो तालमेल किन नमिलेको, एक अर्कालाई किन गुमराहमा राखेको, भन्दै ओलीले प्रश्न गर्नु भएको थियो ।
मन्त्री र सचिवहरूका कारण आफूले माफी माग्नुपरेको भन्दै प्रधानमन्त्री ओली बैठकमा आक्रोसित बन्नु भएको हो ।