एजेन्सी, २८ असार । सामाजिक सञ्जालले अहिलेसम्मकै उच्च पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने भएको छ । प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक स्वार्थका लागि अवैध रुपमा प्रयोग भएको सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी निकायले फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय गरेको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अमेरिकीकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी) ले फेसबुकका ८ करोड ७० लाख भन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकाले अवैध रुपमा प्राप्त गरी निहित राजनीतिक स्वार्थका लागि प्रयोग गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर जरिवाना तिराउने सम्बन्धी प्रस्ताव एफटिसीमा ३–२ भोटले पारित भएको स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस सम्बन्धमा फेसबुक र एफटिसीले कुनै प्रतिक्रिया दिन नचाहेको बताइएको छ ।