काठमाडौं, २८ असार । बिहीबारबाट सुरु भएको अविरल वर्षाका कारण नेपालको मध्य तथा पूर्वी भेगका ठूला, मझौला तथा स्थानीय नदीको सतहले सतर्कताको विन्दु पार गरेका छन् । भोजपुर–धरान, बीपी राजमार्ग, बुटवल–पाल्पा सडक, लमजुङ–मनाङ सडकखण्ड बन्द भएको गृह मन्त्रालयले जनाएको छ ।
लगातारको वर्षाले माटो गलाएर पहाडी भेगमा पहिरोको जोखिम पनि बढाएको छ । देशका विभिन्न स्थानमा बाढी आउँदा जनधनको क्षति बढ्दै छ । मध्य र पूर्वी क्षेत्रका ठूला नदीको जलसतह बढेर मानव बस्तीमा पस्न थालेपछि मौसम पूर्वानुमान महाशाखाले पूरै शक्ति बाढीको व्यवस्थापनमा लगाउन शुक्रबार बिहानै आह्वान गरेको छ ।
मझौला नदीहरू पनि उर्लिएका छन् । कमला, कन्काई र तिनाउमा बाढीको सतहले खतराको सङ्केत नाघिसकेको छ । उपबेसिनअन्तर्गत रहेको सप्तकोसीका सातवटा तथा बाग्मती, विष्णुमती, महनोहरा, नख्खु, गण्डकीको त्रिशूली, मस्र्याङ्दी, सेती, मादी, कालीगण्डकीमा बाढीको सतह सतर्कता तह माथि उक्लेकाले विपद्को ठूलै सङ्कट आउन सक्ने अनुमान महाशाखाले गर्दै सतर्कताका लागि आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण बिहीबार आधा रातमै कपिलवस्तु, रुपन्देही, चितवन, पर्सा, मकवानपुर, सिन्धुली, सिराहा, रौतहट आसपासका अधिकांश जिल्लामा भारी वर्षा भएको रेकर्ड महाशाखामा आयोे । बहाव खतराको सङ्केतभन्दा माथि उक्लेकाले तटीय मानवीय सुरक्षामा ध्यान दिन महाशाखाले सम्बन्धित निकायलाई अपिल गरेको छ ।
प्रदेश १, २ र ३ का चुरेका नदीमा उच्च बाढी रहेकाले तराई क्षेत्रमा उच्च खतरा बढेको छ । पूर्वको मेची, विरिङ, निन्दा, पथरी, मोरङ, सुनसरी र इलामबाट बहने मावा, नुनखोला, बूढीखोला, खेसिलिया, सुनसरी खोला, उदयपुरको त्रियुगा, वालन, खुट्टीखोला, सप्तरीको खाडो, माहुली, रातु, हर्दी, महोत्तरीको रतुवा, रौतहटको लालबकैयामा बाढी उच्च भएको छ । होचा भूभाग बढी डुबानमा परेकाले बस्ती सार्नुपर्ने अवस्थामा छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।