काठमाडौं, २७ असार । भूकम्पले क्षति पुर्याएको राजधानीको थापाथली स्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल भवनको पुनर्निर्माण सम्पन्न भएको छ । शुक्रबार पुनर्निर्माण गरिएको सो अस्पताल भवनको एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालले भोग्दै आएको पार्किङ लगायत अन्य समस्या सरकारले छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिर पनि प्रसुति सम्बन्धि अत्याधुनिक अस्पताल स्थापना गर्ने योजना तय गरिएको जानकारी दिनु भएको थियो ।
पुनर्निर्मित सो भवनमा ४ सय १५ शैयाको व्यवस्था गरिएको छ । अस्पतालको पुनर्निर्माणमा जापान सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।