काठमाडौं, २७ असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले विषादी परीक्षण प्रयोगशालाको निरीक्षण गर्नु भएको छ ।
भारतबाट आयोतित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको आलोचना भईरहेका बेला मन्त्री खनालले शुक्रबार कालिमाटी तरकारी बजारमा रहेको विषादी परिक्षण प्रयोगशालाको निरीक्षण गर्नु भएको हो । प्रयोगशालाको निरीक्षणपछि उहाँले संचारकर्मीसंग प्रचार गरिए जस्तो भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको दाबी गर्नुभयो । मन्त्री खनालले दैनिक तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेकाले सर्वसाधारणले डराउनुपर्ने स्थित नरहेको पनि बताउनु भयो ।
मन्त्री खनालले जनस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले ४ महिना अघि नै २१ वटा विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको बताउनुभयो । नेपालमा हाल विषादी परीक्षणका लागि केन्द्रमा एक र देशका अन्य भागमा गरी ८ वटा प्रयोगशाला रहेका छन् ।