काठमाडौं, २२ भदौ । पार्टीको कार्यक्रमका लागि गृहजिल्ला गोरखा जान हिँडेका डा. बाबुराम भट्टराई बीच बाटोबाटै काठमाडौं फर्किएका छन्।
नयाँ शक्ति पार्टी नेपालको जिल्ला भेलामा सहभागी हुन गोरखा हिँडेका पूर्व प्रधानमन्त्री तथा पार्टी संयोजक समेत रहेका भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि बीच बाटोबाटै काठमाडौं फर्किएका हुन्।
आगामी मंसिरमा हुने संसदीय निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका भट्टराई चुनावको तयारीका लागि गृहजिल्ला जान लागेको बताईएको छ।
तर हालै प्रोस्टेट ग्रन्थीको अपरेशन गरेका उनी पूर्ण रुपमा स्वस्थ्य हुन सकेका छैनन् । पिसाबमा समस्या देखिएपछि एक महिना अगाडि मात्रै भट्टराईले प्रोस्टेट ग्रन्थीको अपरेशन गराएका थिए।