‘सानो मुलुकलाई कूटनीतिक मर्यादा राख्न कठिन’ | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

‘सानो मुलुकलाई कूटनीतिक मर्यादा राख्न कठिन’

pradeep gyawali

काठमाडौं, २५ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भूराजनीतिक जटिलतामा कुनै दृष्टिकोणबाट पनि नफसेको बताएका छन्। निकै जटिल परिस्थितीमा पनि जोगिएर आएको नेपाल यतिबेला कूटनीतिक असहजतामा पर्ने कुनै कारण नभएको दाबी गरे।

नेपालको सबै मित्र रहने हुनाले यहाँको भूमि कुनै मुलुकको लागि उपयोग हुन नसक्ने र नेपालले कसैसँग पनि शत्रुभाव नराखेकै कारण कहिल्यै समस्यामा नपर्ने बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले सानो मुलुकलाई कूटनीतिक मर्यादा राख्न साच्चै कठिन भने हुने गरेको बताए। ‘छिमेकी भारत (उदाउँदो शक्ति) ले भेनेजुयलाबाट तेल ल्याउन मिल्छ। अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उत्तर कोरिया पुगेर किमलाई हेलो भन्न सक्छन्,’ मन्त्री ज्ञवालीले भने, ‘हामीले त्यसो गर्दा के होला ? त्यो सोच्न पनि सकिदैन। साना मुलुकको समस्या त्यही हो। त्यस्तोबाट बचेर सम्वन्ध राख्दै अघि बढ्ने हो।’ सानो मुलुक भइसकेपछि विकसित राष्ट्रजस्तो खुला बन्न नसकिने धारणा राख्दै यस्तो बताएका हुन्।

‘नेपालको कूटनीतिक अभ्यासः राजदूतको अनुभव’ नामको संस्मरणात्मक पुस्तक सार्वजनिक गर्दै उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्। कूटनीतिमा अनुभव संगालेका र राजदूतको भूमिका पनि निर्वाह गरेका २० पूर्वराजदूतको अनुभवलाई लिपिबद्ध गरेर पत्रकार विष्णु रिजालको सम्पादनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले उक्त पुस्तक बाहिर आएको हो।  यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।