राजदूतहरूको नाम सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजदूतहरूको नाम सर्वसम्मत

sunuwai

काठमाडौं, २४ असार । संसदीय सुनुवाइ समितिले विभिन्न चार देशका लागि प्रस्तावित राजदूतहरूको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सोमबार संसदीय सुनुवाइको प्रक्रियापछि समितिले सबै राजदूतको नाम अनुमोदन गरेको हो ।

समिति निर्णयअनुसार अस्ट्रेलियाका लागि प्रस्तावित महेश दाहाल, कतारका लागि प्रस्तावित डा। नारदनाथ भारद्वाज, बङ्गलादेशका लागि प्रस्तावित डा। वंशीधर मिश्र र स्पेनका लागि प्रस्तावित दावाफुटी शेर्पाको नाम राजदूतका लागि सर्वसम्मत अनुमोदन गरिएको हो ।
संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चारैजना राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रस्तावित चारै जनाको राजदूतको सुनुवाइ प्रक्रिया सम्पन्न गरेका छौँ ।

सुनुवाइपछि समितिमा प्रस्तावित नामहरू निणयार्थ पेश हुँदा सर्वसम्मत रूपमा अनुमोदित भएका छन् ।’समितिले सोमबार दुई चरणमा गरी सुनुवाइ सम्पन्न गरेको हो । सोमबार बिहान बङ्गलादेशका लागि प्रस्तावित डा। वंशीधर मिश्र र दिउँसोको बैठकमा अन्य तीन जनाको सुनुवाइ गरिएको हो ।

समितिले अब अनुमोदनको जानकारी सम्बन्धित निकायलाई पठाउनेछ । समितिबाट अनुमोदन भएको जानकारी पठाइएसँगै नियुक्तिका अन्य प्रक्रिया सुरु हुनेछन् ।

त्यसअघि बङ्गलादेशका लागि प्रस्तावित राजदूत डा। मिश्रले द्विपक्षीय हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालका धेरै विद्यार्थी बङ्गलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने गरेको बताउँदै विद्यार्थीका समस्या सम्बोधनमा आफू केन्द्रित हुने बताउनुभयो । उहाँले नेपाल र बङ्गलादेशबीच आर्थिक तथा पर्यटन क्षेत्रमा सम्बन्ध स्थापित गर्न पहल गर्ने बताउनुभयो ।

यस्तै कतारका लागि प्रस्तावित डा। भारद्वाजले नेपाली श्रमिकको अवस्था सुधारका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो । भारद्वाजले नागरिकको सुरक्षा, मानव अधिकारको समस्यालाई व्यावहारिक रूपमा सम्बोधनको प्रयास गर्ने बताउनुभयो । उहाँले रोजगारीका क्रममा कतारमा रही घाइते भएका, कोममा रहेका सबै नागरिकलाई स्वदेश फर्काउन पहल लिने पनि बताउनुभयो । नेपालको हिमालयको पानी कतारमा निर्यातको सम्भाव्यता अध्ययन र प्रयास गर्ने पनि उहाँको प्रतिबद्धता छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);