काठमाडौं, २२ असार । भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषाधि परीक्षणको काम तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघले सडक आन्दोलन सुरु गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेविसंघले जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड गर्ने गरी सरकारले लिएको सो निर्णयविरुद्ध आईतबारबाट काठमाडौंमा सडक आन्दोलन सुरु गरेको हो ।
जनतालाई विष खुवाउने निर्णय सरकारबाटै आएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनु भयो ।
नेविसंघले सरकारको सो निर्णयको विरोधमा सोमबारबाट सबै जिल्लाहरुमा आन्दोलन गर्ने जनाएको छ । भारत तथा तेस्रो मुलुकबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषाधिको परीक्षण तत्कालका लागि स्थगन गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भईरहेको छ ।