कैलालीमा ४९ जनाको एउटै परिवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कैलालीमा ४९ जनाको एउटै परिवार

kailali 49 member in family

धनगढी, २१ असार । नेपालीमा एउटा भनाइ छ, ‘सानो परिवार, सुखी परिवार । ’ त्यसैले एकल परिवारप्रतिको आकर्षण बढ्दो छ । मुलुकमा परिवार विभाजन भएर एकल हुने क्रम बढेको बेला कैलालीमा एकै परिवारका ४९ जना सदस्य मिलेर बसेका छन् ।

कैलारी गाउँपालिका–१, मनाउँमा रहेको अङ्ग्रेजीलाल कठरियाका ४९ जना सदस्य एउटै छानामुनि मिलेर बसेका छन् । तीन पुस्ते यो परिवारमा पाँच दाजुभाइका छोराछोरी÷बुहारी र नातिनातिना छन् ।

घरको जेठो अङ्ग्रेजीलालको सात छोरा र दुई छोरी गरी नौ जना सन्तान छन् । सबैको विवाह भइसकेको छ । यसैगरी, माइलो रामचन्दरको तीन छोरामध्ये दुई जनाको विवाह भइसकेको छ । साइँलो लक्ष्मणको दुई छोरी, काइँलो चुन्नुको एक छोरा र दुई छोरी गरी तीन सन्तान रहेका छन् । कान्छो भाइ दयाशङ्करको तीन छोरा छन् ।

गत वर्षसम्म ५० जना सदस्य रहेको यो परिवारले साइँलो भाइ लक्ष्मणलाई भने गुमाइसकेको छ । गएको साउनमा लक्ष्मणको मृत्यु भएको थियो । संयुक्त परिवारको नमुना नै रहेको कठरिया परिवार अहिलेसम्म मिलेर बस्नुको प्रमुख कारण हो, कुशल पारिवारिक व्यवस्थापन । माइलो भाइका माइला छोरा डिल्लीराज परिवारको घरमूली हुनुहुन्छ । आफूले सबैको चित्त बुझाउन सकेका कारण अहिलेसम्म मिलेर बसेको उहाँ बताउनुहुन्छ ।

“सानोतिनो झगडा हुँदा पनि सबै मिलेर समाधान गर्ने गरेका छौँ”, घरमूली डिल्लीराजले भन्नुभयो, “अहिलेसम्म ४९ जना एउटै परिवारमा रहनुको कारण कुशल पारिवारिक व्यवस्थापन नै हो । ” यसका साथै, प्रायः सबैलाई आफूले काममा लगाएको उहाँको भनाइ छ । “सबै काममा व्यस्त भएपछि एकले अर्काको कुरो काट्ने कसैलाई फुर्सद छैन”, डिल्लीराजले भन्नुभयो ।

आमाबुवा र छोराछोरी मात्रै भएको परिवार पनि मिलेर बस्न नसकिरहेको बेला पाँच दाजुभाइका सन्तान मिलेर बस्दा अङ्ग्रेजीलालको खुसीको सीमा नै छैन । ७५ वर्षीय उहाँ भन्नुहुन्छ, “म धर्तीको यस्तो भाग्यमानी व्यक्ति हुँ, जसले यति धेरै सदस्य एकैसाथ बसेको देख्न पाएको छु । ”

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);