चितवन, २१ असार । अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को छ महीनामा जिल्लामा ५३ वटा मानवअधिकार उलङ्घनका घटना भएको जनाएको छ। इन्सेक चितवनले शुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले मानवअधिकार उलङ्घनका घटना बढ्दै गएको जानकारी दिएको हो।
अघिल्लो वर्ष छ महीनामा ४५ घटना भएका थिए। यस वर्षको छ महीनामा जिल्लामा सबैभन्दा धेरै जबर्जस्ती करणीका घटना सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ। इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले ३४ वटा घटना जबर्जस्ती करणीका भएको बताए। जसमा बालिकादेखि ७३ वर्षीया महिलासम्म रहेका छन्।
जबर्जस्ती करणीमा पर्नेमा बालिका बढी रहेका छन्। १७ जना बालिकालाई जबर्जस्ती करणी भएको छ भने चार जनामा यौन दुव्र्यवहार भएको छ। यस्तै सात जना महिलामाथि करणी भएको छ भने दुई जनामाथि करणीको प्रयास भएको इन्सेकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ। हाडनाता करणीका चार वटा घटना भएका छन्।
जिल्लामा भएका अन्य मानवअधिकार उलङ्घनका घटनामा जातीय विभेद तीन वटा, घरेलु हिंसाका छ वटा, बालिका बेचबिखनमा एउटा, महिला बेचबिखनमा एउटा र बहुविवाहमा आठ वटा निवेदन दर्ता भएको सो अवसरमा जानकारी दिइएको थियो।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




