नाडी छाम्दै तीन नेता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

नाडी छाम्दै तीन नेता

oli-prachanda-madhav

काठमाडौं, १४ असार । नेकपाका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग शुक्रबार बिहान बालुवाटारमा भेट गरे । आफनो निवास कोटेश्वरबाट हिँडेका नेपाल बालुवाटार जानुअघि अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार छिरे ।

एक दिनअघि (बुधबार) ओलीले दाहालसँग ‘धेरै वादविवाद नगरौं, मिलेर जाऔं’ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका छन् । ओलीको मिलेर जाऔं भन्ने प्रस्ताव नेता नेपालले अस्वीकार त गरेनन् तर मिल्ने आधार, विधि, पद्धति र प्रक्रियाबारे उल्टै प्रश्न तेर्स्याएका छन् । ‘तपाईं र म व्यक्तिको कुरा होइन, हामी कुन पद्धतिमा जाने हो, विधिअनुसार चल्ने कि नचल्ने भन्ने मुख्य कुरा हो, यसमा मिल्नुपर्‍यो,’ नेता नेपालले ओलीलाई शुक्रबारको भेटमा यस्तो जवाफ दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीमाथि नेता नेपालले विगतदेखि नै पार्टीलाई पद्धतिअनुसार नचलाएको र सरकारमा पनि मानोमानी ढंगले अघि बढेको आरोप लगाउँदै आएका छन् । ओलीको कार्यशैलीमाथि प्रश्न उठाउने नेतामा अहिले दाहाल पनि थपिएका छन् । त्यसैले विगतमा ओलीसँग मात्र बढी निकट देखिने दाहाल अहिले नेपाल र ओलीलाई समदूरीमा राखेर हिँडिरहेका छन् । अहिले बालुवाटारमा ओलीसँग जति नै बाक्लो भेटघाट नेपाल र दाहालबीच पनि चलिरहेको छ । यसैसाता दाहाल र नेपालबीच कहिले खुमलटार त कहिले नयाँ बानेश्वरको अर्याल होटलमा लामा संवाद भएका छन् ।

ओली ट्र्याकबाहिर हिँड्न खोजेको वा आफूहरूलाई कुनै पनि विन्दुमा कर्नर गर्ने कोसिसमा रहेको बुझाइ अहिले नेपालमा मात्र होइन, दाहालमा पनि बढ्न थालेको छ । यो कुरा दाहालले आफूनिकट नेताहरूलाई बोलाएर गत आइतबार खुमलटारमा ब्रिफिङ गरेका थिए । अघिल्लो शुक्रबार प्रधानमन्त्री ओलीले ‘जनताको बुहदलीय जनवाद’ लाई पार्टीको दस्ताबेजमा राख्ने प्रस्ताव गरेपछि दाहाल झस्किए । त्यही प्रकरणको बाछिटाले आन्तरिक एकता खल्बलिने शंका बढेपछि सातायता तीन मुख्य नेताबीच छुट्टाछुट्टै संवाद चलिरहेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);