काठमाडौं, ११ असार । सरकारले संघीय निजामती प्रशासनको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमा त्रुटि गर्दा रक्षा मन्त्रालय मातहतका १ सय १३ जना कर्मचारी अन्योलमा परेका छन् ।
रक्षा मन्त्रालयको संगठनात्मक स्वरूप निर्धारणका लागि २०७५ सालमा गरिएको सर्वेक्षणका क्रममा नेपाली सेनाका १७ वटा एकाइमा कार्यरत निजामती कर्मचारी छुटाइँदा समस्या उत्पन्न भएको हो ।
‘सैनिक मुख्यालयदेखि गठ्ठाघर, सुन्दरीजल, स्वयम्भू बारुदखानालगायत ब्यारेकमा कार्यरतहरूलाई ओएन्डएम सर्वेक्षणमा छुटाइएकाले रक्षा मन्त्रालयको स्वीकृत संगठन संरचनामा उनीहरूको दरबन्दी छैन । ती कर्मचारी फाजिलमा परिने हो कि भन्ने चिन्तामा छन्,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने । ती कर्मचारी आ–आफ्नो ठाउँमा काम गरिरहेको भए पनि स्वीकृत दरबन्दी नभएकाले अब कहाँ जाने, के गर्ने भन्ने अन्योल छ । ती कर्मचारी आफ्नो जागिरे जीवनको भविष्य र वृत्तिविकास के हुने हो भन्ने चिन्तामा समेत परेको रक्षाका ती अधिकारीले बताए ।
नेपाली सेनाका १७ वटा एकाइमा निजामतीतर्फ १ सय ३६ जनाको दरबन्दी रहेकामा १ सय १३ जना कार्यरत छन् । उनीहरू प्रशासन, शिक्षा र प्राविधिक सेवा समूहका जनशक्ति हुन् । आफ्नो दरबन्दी नै नभएपछि ती कर्मचारीले मन्त्रालयको सांगठनिक संरचनामा आफूहरूलाई पारिदिन रक्षामन्त्री ईश्वर पोखरेल र सचिव रेश्मीराज पाण्डेलाई भेटेर बारम्बार आग्रह गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।