काठमाडौं, १० असार । प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ ।
त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा मात्र सलामी दिइन्छ । सामान्यतया प्रहरी कार्यालयको औपचारिक भ्रमणमा मात्र सलामी दिने प्रचलन रहेको डिआइजी विश्वराज पोखरेलले बताए ।
पूर्वएआइजी नवराज ढकाल सलामी विकृत बन्दै गएको बताउँछन् । ‘सलामी भनेको विशिष्ट व्यक्तिलाई सुरक्षा निकायले दिने एउटा सम्मान हो,’ उनी भन्छन्, ‘यसलाई निर्देशिका बनाएर एकरूपता दिनुपर्छ ।’ निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी दिने विकृति देखिएको उनको भनाइ छ ।
प्रहरीको चाकडीप्रथा
पछिल्लो समय सलामी उच्चपदस्थलाई दिइने सम्मानभन्दा चाकडीका रूपमा देखिने गरेको छ । सुरक्षा निकायले नेता तथा उच्चपदस्थ अधिकारीलाई प्रभावित गर्न र रिझाउन यसरी सलामी दिने गरेको छ । पहिले सीमित उच्चपदस्थलाई रिझाउँदा पुग्थ्यो, तर अहिले स्थानीय तहदेखि संघीय सरकारका अधिकारीलाई समेत प्रहरीले सलामी दिनुपरिरहेको छ । स्थानीय तहको वार्षिक सभामा सबैजसोले सलामी लिने गरेका छन् ।
सुरक्षामा समेत असर
सलामीको विकृतिले शान्तिसुरक्षामै असर ल्याउने अवस्था आएको प्रहरी अधिकारी बताउँछन् । उच्चपदस्थ व्यक्ति धेरै भएको र उनीहरूलाई सलामीका लागि प्रहरीलाई स्ट्यान्डबाई राख्नुपर्दा गस्तीलगायतका काम प्रभावित हुने गर्दछन् । ‘कोही स्कर्टिङ खोज्छन्, कोही सलामी खोज्छन्,’ एक जिल्लाका प्रहरी प्रमुख भन्छन्, ‘भिआइपीहरूको सम्मान मोहले हैरान भइसक्यो ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।