अन्डाको ५०% बिचौलियालाई | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०८१, बुधवार

अन्डाको ५०% बिचौलियालाई

egg

काठमाडौं, ९ असार । आफूले बेच्दा लागत पनि नउठ्ने भाउमा अन्डा दिएर खुद्रा बिक्रीमा मनपरी भएको देख्दा काभ्रेको बनेपा–३ नालासुमाराका रत्नप्रसाद दाहाललाई दिक्क लाग्छ ।

डेढ दशकदेखि व्यावसायिक कुखुरापालन गर्दै आएका उनको ४ वटा फार्ममा १० हजार लेयर्स छन् । दैनिक ८ हजार ४ सयवटा अन्डा उत्पादन हुन्छ ।

बेच्नु परिरहेको भाउबाट उनी सन्तुष्ट छैनन् । ‘अन्डाको भाउ डामाडोल छ,’ बिक्रीका लागि क्रेटमा अन्डा राख्दै गर्दा भेटिएका उनले भने, ‘घाटा सहेर बेच्नुपरिरहेको छ ।’ शनिबारबाट दानाको मूल्य बढेपछि झन् तनाव थपिएको उनले दुःखेसो पोखे ।

१० रोपनी जग्गामा लेयर्स पालेका उनलाई ठूलो समस्या अन्डा उत्पादकले लागत नै उठाउन मुस्किल पर्ने बजार भाउको छ । फार्मबाट बेच्दा हातमा प्रतिगोटा अन्डाको ७ रुपैयाँ २१ पैसा पर्छ । ‘यो भाउले लागत नै उठदैन,’ उनले भने, ‘एउटा कुखराबाट अन्डा उत्पादन गर्न १० रुपैयाँ लगानी लाग्छ ।’ सानो अन्डा प्रतिगोटा ५ रुपैयाँमा बिक्री हुने गरेको छ ।

‘हामीले घाटा सहेर दिएको मूल्यअनुसार उपभोक्ताले अन्डा लिन पाए बरु सन्तोक हुन्थ्यो,’ उनले भने, ‘न हामीले भाउ पाएका छौं, न उपभोक्ताले सस्तोमा खान पाएका छन् । नाफा जति सबै बिचौलियाले खान्छन् ।’ ७ क्रेटमा २ सय १० वटा अन्डा भएको बक्सा २ हजार ५० रुपैयाँसम्म बिक्री हुने गरेको थियो । अहिले ठूलो अन्डा बक्साको १५ सय र सानो अन्डा १ हजारमा बिक्री हुने गरेको छ ।

‘अन्डाको मूल्य खस्किएको छ, ७ महिना भयो मूल्यमा समस्या झेलिरहेका छौं,’ उनले भने, ‘पहिला पनि समस्या थियो, अहिले झन् थपिएको छ ।’ भाउ पाइने आसमा शीत भण्डारमा कृषिउपज राखेजसरी अन्डा मौज्दात राख्न मिल्दैन । त्यसरी राखे ढुसी आउने र बिग्रिने भएकाले हातहातै बेचिहाल्नुपर्छ ।

देशभरका अन्डा उत्पादक कृषक सबैको यो साझा समस्या हो । लागतअनुसारको मूल्य नपाएको गुनासो गर्दै आएका किसानले बजार भाउमा एकरूपता नभएको पनि देखेका छन् । नजिक–नजिककै पसलमा समेत समान मूल्य छैन । किसानबाट बिचौलियाले सस्तोमा अन्डा उठाउने गर्छन् । उपभोक्तासम्म पुग्दा मूल्य दोब्बर हुन्छ ।

आइतबार कपनका तीनवटा पसलमा अन्डाको मूल्य फरक–फरक पाइयो । बिगमार्टमा क्रेट (३० वटा) को २ सय ६५ रुपैयाँ, प्रतिगोटा ११ रुपैयाँ । केही टाढा रहेको होलसेलमा क्रेटको २ सय ६० र प्रतिगोटा १० रुपैयाँमा बिक्री गर्दै आएको पाइयो । फ्रेस हाउसमा क्रेटको २ सय ५० रुपैयाँमा र प्रतिगोटा साढे ८ रुपैयाँमा बिक्री हुने गरेको पाइयो । खुद्रा बिक्री हुने काठमाडौं उपत्यकाका पसलहरूमा कतैको पनि मूल्यमा एकरूपता छैन ।

किराना पसलमा त झन् भाउमा मनपरी छ । कतै प्रतिगोटा साढे १२ र कतै १५ रुपैयाँसम्म तिरेर अन्डा किन्नुपरेको गुनासो उपभोक्ताको छ । फार्मबाट उठाउँदा बिचौलियाले ठूलो र सानो अन्डाको मूल्य फरक–फरक तिर्छन् । उपभोक्ताको हातसम्म पुग्दा सानोरठूलो अन्डाको मूल्य एउटै कायम हुन्छ । ‘बजारमा अन्डाको मूल्य घटेको हल्ला आए पनि हामीले किन्ने पसलमा घटेको छैन,’ कपन सरस्वतीनगरकी राधिका कोइरालाले भनिन्, ‘सबैले बिचौलियाले बजार बिगारे भन्छन्, पसलेले जतिमा दिन्छन् उतिमा हामीले किन्नुपरेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);