कृत्रिम गर्भाधानबाट जन्मिए ११० शिशु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कृत्रिम गर्भाधानबाट जन्मिए ११० शिशु

काठमाडौँ — प्रसूतिगृहको नि:सन्तान सेवा केन्द्रबाट कृत्रिम गर्भधारणका माध्यमबाट यस आर्थिक वर्षमा मात्रै १ सय १० शिशु जन्मिएका छन् । सीमित जनशक्ति, न्यून उपकरण र साँघुरो ठाउँका कारण सेवा विस्तारमा समस्या भइरहेको अस्पताल प्रशासन प्रमुख रानु थापाले बताइन्।

प्रसूतिगृहको नि:सन्तान सेवा केन्द्रमा दैनिक ३०/४० जना यस्तै समस्या लिएर आइपुग्छन् । कृत्रिम गर्भाधान (आईभीएफ, आईयूआई) प्रविधिबाट सन्तान जन्माउँदा महिलामा कृत्रिम गर्भाधान गरिन्छ । आईभीएफ कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधि हो । बाँझोपनको समस्या हटाउन यस्तो प्रविधि प्रयोग गरिन्छ । यसमा महिलाको डिम्ब र पुरुषको शुक्रकीट प्रयोगशालामा राखेर करिब ४८ घण्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापन गरिन्छ । कुनै जोडीको प्राकृतिक गर्भधारण हुन नसकेमा केन्द्रले उनीहरूको स्वास्थ्य अनुसन्धान गरी कृत्रिम गर्भधारण गर्न मद्दत गर्ने केन्द्रकी प्रमुख डा. उषा श्रेष्ठले बताइन्।

 

‘नि:सन्तान समस्या भन्नेबित्तिकै महिलाकै मात्र दोष हुन्छ भन्ने सामाजिक मान्यता हावी छ, समस्या महिलापुरुष दुवैमा बराबरी नै हुन्छ,’ डा. श्रेष्ठले भनिन् । ‘कुनै पुरुषमा शुक्रकीट उत्पादन नै कम हुन्छ, कसैको शुक्रकीट पर्याप्त भइहाले पनि गुणस्तरीय हुँदैन, जसले गर्दा नि:सन्तान समस्या आइपर्छ,’ उनले भनिन् । समस्या पुरुषको हुँदा उपचार थप जटिल हुने श्रेष्ठ बताउँछिन् । ‘शुक्रकीट नै विकास नहुनेले अर्को व्यक्ति (डोनर) बाट शुक्रकीट लिएर पनि गर्भधारण गर्न सकिने अस्पतालका पूर्वनिर्देशक डा. अमीरबाबु
श्रेष्ठले बताए। ‘यसका लागिछुट्टै खर्च लाग्छ, दुई हजार थप,’ उनले भने।

 

ललितपुरका २५/२७ वर्षीय एक जोडीको विवाहको ५ वर्ष बितिसक्दा पनि सन्तान भएनन्। सन्तानबारे डाक्टरले भनेअनुसार सबै जाँच गर्दा पनि बच्चा हुन सकेन, यस्ता जोडी प्रजनन उमेरका छन् भने केही वर्ष कुरेर प्राकृतिक रूपमै गर्भधारण गर्नु राम्रो हुने श्रेष्ठले बताइन्। नि:सन्तान हुनुका धेरै कारण भए पनि १० देखि १५प्रतिशतमा कारण नै पत्तानलाग्ने उनी बताउँछिन्। आईभीएफ सेवाका लागि विशेषज्ञको सल्लाहमा महिलाले महिनावारी भएको २/३ दिनमा अन्डा (भ्रूण) बढ्ने औषधि खानुपर्छ । औषधि खाएको १० दिनमा अन्डाको चेकजाँच भएपछि पाइपद्वारा पुरुषको शुक्रकीट महिलाको पाठेघरमा राखिन्छ।

 

यस्तो प्रक्रिया आईयूआई हो, जुन आईभीएफभन्दा निकै सस्तो छ । यो सेवाका लागि आठदेखि दस हजार खर्च गर्नुपर्ने डा. श्रेष्ठले बताइन् । केन्द्रले १६ वर्षदेखि आईयूआई सेवा दिँदैआइरहेको छ। आईयूआई उपचार सफल नहुनेले मात्रै आईभीएफतिर लाग्नुपर्ने श्रेष्ठ बताउँछिन् । आईभीएफ भने गत पाँच वर्षदेखि सञ्चालनमा छ, जुन आईयूआईभन्दा महँगो हुने अस्पतालले जनाएको छ । ‘इन्जेक्सनको मूल्य पनि समस्या हेरेर हुन्छ, ३० देखि ६० हजारसम्म लाग्न सक्छ,’ निर्देशक डा. श्रेष्ठ भन्छन्, ‘लामो उपचार र धेरै खर्च गर्दा पनि कहिलेकाहींउपचार सफल नहुन सक्छ । यो उपचार २० देखि ३० प्रतिशत मात्रै सफल हुन्छ।’

 

आईभीएफका लागि अस्पताललाई मात्रै एक लाख ६० हजार तिर्नुपर्छ । इन्जेक्सन, चेकजाँच फलोअप गरेर दुई लाखसम्म खर्च लाग्ने उनले बताए। निजी अस्पतालमा भने ६ लाखसम्म तिर्ने गरेको केही सेवाग्राहीले बताए। नि:सन्तान समस्याबाट बच्न जथाभावी गर्भपतन नगर्ने, धेरै चाँडो र निकै ढिलो बिहे नगर्ने, पहिलो बच्चा २० देखि ३० वर्षको उमेरमा जन्माउने चिकित्सकहरूले सुझाएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);