काठमाडौं, ८ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताउनुभएको छ ।
आइतबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले पहिला भएका नीति नियमलाई अबलम्बन गर्दै समयसापेक्ष परिवर्तन गरिँदै लगिने उल्लेख गर्नुभयो । उहाँले कर्मचारीसंग सम्बन्धित सबै नीति नियम भताभुंग पारेर एकैचोटी परिवर्तन गर्न संभव नरहेको समेत उल्लेख गर्नुभयो ।
समितिका सदस्यहरुले भने पुराना नीति नियमलाई परिवर्तन गरेर नयाँ बनाउन माग गरेका थिए।बैठकमा मन्त्री पण्डितले श्रेणीगत र तहगत रुपमा लामो छलफल गरेर कर्मचारी समायोजन गरिएको बताउनुभएको थियो । बैठकमा मन्त्री पण्डितले गरेका कुराको बचाउ गर्न खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला र समितिका सदस्यबीच केहीबेर भनाभन समेत भएको थियो ।
समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका लागि विभागिय मन्त्री पण्डितलाई समितिमा बोलाएको हो ।




