काठमाडौं, ५ असार । चीनका राष्ट्रपति सी जिनपिङ बिहीबार दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया जाँदै छन् ।
सन् २००५ यता चिनियाँ शीर्ष नेताले गर्न लागेको यो पहिलो उत्तर कोरिया भ्रमण हो । सन् २०१२ मा सत्तामा आएका सी पहिलोपटक उत्तर कोरिया जान लागेका हुन् । सी र उत्तर कोरियाका नेता किम जोङ–उनबिच अहिलेसम्म चारपटक औपचारिक भेट भइसकेको छ तर ती सबै भेट चीनमा भएका हुन् । उत्तर कोरिया भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाका नेताबिचको भेटवार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रम तथा वित्तिय मुद्दामा छलफल हुने बताइएको छ । उत्तर कोरियाका लागि चीन अति महत्वपूर्ण छ ।
गत फेब्रुअरी महिनामा हानोइमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिचको वार्तामा सहमति नजुटेपछि सीले पहिलोपटक किमलाई भेट्न लागेका हुन् । उत्तर कोरियाको परमाणु निशस्त्रिकरणका सम्बन्धमा कुनै सहमति नै नगरी ट्रम्प–किम वार्ता टुंगिएको थयो । यस्तो परिवेशमा हुन लागेको सीको उत्तर कोरिया भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।