टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण

tikapur-campus

टीकापुर, ५ असार । टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जमिन अतिक्रमण भएको छ । क्याम्पसको नाममा रहेको तीन सय ८० मध्ये ८० बिघा जमिन मात्रै क्याम्पसले भोगचलन गरिरहेको छ । बाँकी जग्गा मुक्त कमैया तथा सुकुमबासीको नाममा अतिक्रमण भएको हो । टीकापुर सहरी विकास समितिले ०५६ सालमा टीकापुर बहुमुखी क्याम्पसलाई ८० बिघा जमिन दिएको थियो । ०६२ सालमा थप तीन सय बिघा जमिन क्याम्पसलाई प्रदान गरेको हो ।

०६२/६३ सालको आन्दोलनपछि क्याम्पसको जमिन अतिक्रमण सुरु भयो । तत्कालीन माओवादीको उक्साहटमा मुक्त कमैया र सुकुमबासीले क्याम्पसको जग्गा मिच्न थाले । सुरुमा ३५ घर परिवारले क्याम्पसको जमिनमा बसोवास गरे । अहिले करिब एक हजार घर–परिवारले क्याम्पसको जमिनमा बसोवास गर्दै आएको क्याम्पस प्रमुख केशरबहादुर कुँवरले बताए । ‘अतिक्रमणकारीले आफूलाई मुक्त कमैया र सुकुमबासी भन्छन्,’ उनले भने, ‘तर, वास्तविकतामा उनीहरू हुकुमबासी हुन् । अधिकांशको टीकापुरमा घर र गाडी छ । छानबिन गर्ने हो भने १० प्रतिशत मुक्त कमैया र सुकुमबासी होलान् ।’

कट्ठाको पाँचदेखि १० लाखमा खरिद–बिक्री 
अतिक्रमणकारीले क्याम्पसको नामको जमिन प्रतिकट्ठा पाँचदेखि १० लाख रुपैयाँसम्ममा बेचबिखन गर्दै आएका छन् । कागजी रूपमा क्याम्पसको जग्गा उनीहरूले मौखिक रूपमै लेनदेन गर्ने गर्छन् । क्याम्पसले सबै जग्गाको कर तिर्दै आएको छ । क्याम्पसले हालसम्म नगरपालिकालाई ४८ लाख रुपैयाँ एकीकृत कर भुक्तानी गरेको कुँवरले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);