काठमाडौं, ४ असार । सरकारले बिकास निर्माणको कामलाई अघि बढाउन आवश्यक वातावरण बनाउन नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । संसदको बिकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद गौरी शंकर चौधरीले गिटी, ढुंगा र बालुवा जेठ मसान्तसम्म मात्रै झिक्न पाउने व्यवस्थाका कारण असारमा गर्नुपर्ने थुप्रै विकास निर्माणको कामहरु अलपत्र परेको भन्दै सरकारको आलोचना गर्नु भयो ।
नेकपाकै अर्का सांसद टोपबहादुर रायमाझीले विकास र समृद्धि मुलुकको लक्ष्य भएकाले सोही अनुसारको वातावरण बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले गिटी, बालुवा र ढुंगा मापदण्ड पूरा गरेका खोलाहरुबाट असारमा पनि निकाल्न मिल्ने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा समितिकी सभापति कल्याणी खड्काले क्षमतानै नभएका ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने गरेकाले विकास, निर्माणको काममा ढिलाई हुने गरेको भन्दै त्यसो नगर्न सरकारलाई निर्देशन दिनुभयो ।
संघीय संसदको विकास तथा प्रविधि समितिले विकास, निर्माणको कामलाई तोकिएकै समयमा गुणस्तरीय ढंगबाट सम्पन्न गराउन पनि सरकारलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।