खाडीमा ६३ डिग्री, दिउँसो काममा रोक | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

खाडीमा ६३ डिग्री, दिउँसो काममा रोक

qatar

काठमाडौं, ३ असार । तापक्रम ६३ डिग्रीसम्म पुगेपछि खाडीका ६ देशले मध्याह्नको समयमा काम गराउन कम्पनीहरूलाई रोक लगाएका छन् ।

बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय काम गर्न रोक लगाउने निर्णय गरेका हुन् । उनीहरूले निर्णय उल्लंघन गर्ने कम्पनीलाई कारबाही गर्ने जनाएका छन् ।

बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२.३० देखि ३.३० सम्म, कतारले ११.३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२.३० देखि ३ बजेसम्म काम गराउन रोक लगाएका छन् । खाडीको तापक्रम विगतभन्दा निकै बढेको छ । कुवेतमा अहिलेसम्मकै उच्च ६३ डिग्रीसम्म तापक्रम मापन भएको छ ।

खाडीमा झन्डै १० लाख ७० हजार नेपाली कार्यरत छन् । ती मुलुकका नेपाली दूतावासका अनुसार जुनदेखि अगस्टसम्म नेपाली कामदारको बढी ज्यान जाने गरेको छ । साउदी र कतारमा हरेक दिनजसो एक नेपालीको मृत्यु हुन्छ । ‘गर्मी अत्यधिक भएकाले कामदारले निकै सतर्कता अपनाउन जरुरी छ,’ साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘हामीले सुरक्षाका उपाय अपनाउन सूचना जारी गरिरहेका छौं ।’ कामदारको स्वास्थ्य सुरक्षाका लागि घाममा काम गराउन रोक लगाएको कतार सरकारद्वारा जारी सूचनामा उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार