एजेन्सी, ३१ जेठ । स्वीजरल्यान्डमा लैंगिक समानताको माग गर्दै महिलाहरु देशव्यापी हड्ताल गरेका छन् । सन् १९९१ मा पहिलोपटक लाखौं महिला स्वीजरल्यान्डका सडकमा ओर्लेर सडक आन्दोलन गरेका थिए।
२८ वर्षपछि फेरि महिलाहरु समानताको माग गर्दै हड्तालमा ओर्लिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । सन् १९९१ सम्म स्वीस सरकारमा महिला प्रतिनिधित्व नै थिएन भने उनीहरुले सुत्केरी बिदासमेत पाउँदैन थिए।
आन्दोलनपछि उनीहरुले सरकारमा महिलाको प्रतिनिधित्वका साथै सुत्केरी बिदा स्थापित गराउन सफल भएका थिए ।अहिले भने महिलाहरु लैंगिक समानता, समान पारिश्रमिक लगायतका विषयमा हड्तालमा ओर्लिएका हुन ।
स्वीटजरल्यान्डमा पुरुषको तुलनामा महिलाहरुको पारिश्रमिक २० प्रतिशत कम रहेको जनाइएको छ । यस्तै कार्यकारी पदमा महिलाको उपस्थिति पनि न्यून रहेको छ। स्वीजरल्यान्डमा समान पारिश्रमिक दिने कानून गत वर्ष संसदमा पेश भएको थियो।
महिला अधिकारकर्मीहरुले सामाजिक संजालमा ह्यास्टयागको प्रयोग गर्दै महिला आन्दोलनमा समर्थन जुटाइरहेका छन्। हड्तालमा उत्रेका महिलाहरुले आफू कार्यरत संस्थामा आफूहरु नआउनेबारे जानकारी गरेका बताइएको छ।
केही महिलाले भने पुरुषभन्दा २० प्रतिशत कम पारिश्रमिक पाउने भएकाले कार्यालयमा काम गर्ने कूल समयभन्दा २० प्रतिशत समय अगावै बाहिर निस्कने रणनीति बनाएका जनाइएको छ ।