काठमाडौं, ३१ जेठ । वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानवीन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकार्वाहीप्रति असन्तुष्टि जनाएको छ ।
आयोगले शुक्रबार काठमाडौंमा आफूले तयार पारेको प्रारम्भिक छानवीन प्रतिवेदन सार्वजनिक गर्दै सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कार्वाहीप्रति असन्तुष्टि जनाएको हो । अख्तियारले सो प्रकरणका सम्बन्धमा गरिरहेको छानवीन औपचारिकतामामात्रै सीमित भएको निष्कर्ष निकालिएको आयोगका संयोजक सुकुदेव भट्टराई खत्रीले जानकारी दिनु भयो ।
प्रतिवेदनमा संघीय संसदबाटै सो प्रकरणका दोषीमाथि कार्वाही गर्न पनि माग गरिएको छ । संयोजक खत्रीले संघीय संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार सो प्रकरणमा ४ अरव ३५ करोडभन्दा बढि भ्रष्टाचार भएको उल्लेख गर्दै समितिले दोषी ठहर गरेका तत्कालीन मन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव, नेपाल वायु सेवा निगमका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने माग पनि सरकारसँग गरेको छ ।
नागरिक स्तरबाट गठन गरिएको सो आयोगले छानवीनको क्रममा सरकारी निकायहरुले सहयोग नगरेको गुनासो पनि गरेको छ । त्यसैगरी प्रतिवेदनमा सार्वजनिक लेखा समितिले सरकारलाई बुझाएको सो सम्बन्धि प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।