चार लाख निजी आवास पुनःनिर्माण | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

चार लाख निजी आवास पुनःनिर्माण

susil-gyawali

काठमाडौं, ३० जेठ । २०७२ साल वैशाख १२ गतेको भूकम्पमा क्षतिग्रस्त भएका झन्डै चार लाख निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार जेठ २७ गत ेसम्ममा तीन लाख ९७ हजार १२७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको हो ।

कुल आठ लाख ८४ हजार आठ सय लाभग्राही मध्ये चार लाख २७ हजार १७ जनाले तेस्रो किस्ता लिएर निजी अवास पुनर्निर्माण थालेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार सात लाख ६० हजार, ५९५ ले पहिलो किस्ता र पाँच लाख १७ हजार ४१८ जनाले दोस्रो किस्ता लिएर निजी आवास पुनर्निर्माण गरिरहेका छन् । कुल पुनर्निर्माण भएकामध्ये ३० प्रतिशत साझेदार संस्थासँग मिलेर र ७० प्रतिशतमा नेपाल सरकारको आफ्नै लगानी रहेको उहाँले बताउनुभयो ।

पाकिस्तान र भारतको गुजरातमा भएको भूकम्पको क्षतिपछिको पुनर्निर्माणको तुलनामा नेपालको पुनर्निर्माणको गति सन्तोषजनक रहेको ज्ञवालीको दाबी छ । “पाकिस्तानमा तीन महिनामै प्राधिकरण बन्यो अनि भारतमा एकहप्ताभित्रै बन्यो,” उहाँले थप्नुभयो, “तर नेपालमा आठ महिनापछिमात्र प्राधिकरण गठन भयो ।” सङ्क्रमणकालीन अवस्थामा गठन हुँदा तत्कालीन राहतको कामपछिको पुनर्निर्माण केही ढिला भए पनि स्थानीय, प्रदेश र संघको निर्वाचनपछि भने नेपालको पुनर्निर्माणले तीव्रता लिएको उहाँले बताउनुभयो । “हामीसँग स्थिर सरकार बन्यो अनि स्थानीय सरकारको साथ पनि राम्रो पायौँ,” उहाँले थप्नुभयो, “भूकम्पपछिको क्षतिको मूल्याङ्कन, योजनावद्ध नियमनकारी कानुन तथा योजना र अनुकूलनका सही उपाय अबलम्बन गरेकैले यो सफलता हात लागेको हो ।”

कलह साम्य पार्न सहयोग

निजी घरको स्वामित्व महिला र पुरुषको संयुक्त नाममा दिइएकाले पुनर्निर्माणले घरेलु कलहको अन्त्य गर्न पनि सघाएको उहाँ दाबी गर्नुहुन्छ । सकेसम्म स्थानीय सामग्रीको प्रयोग गरी स्थानीय श्रम प्रयोग गर्दै स्थानीय बैङ्कमार्फत काम गरेकाले पनि सहज भएको उहाँको भनाइ छ ।
भूकम्पले सात हजार ५५३ स्कुल र एक हजार १९७ स्वास्थ्य संस्थामा क्षति पुर्याएको प्राधिरकणले जनाएको छ । त्यस्तै सो क्रममा ८९१ वटा ऐतिहासिक सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो । जसमा सात वटा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । जसमा २३५ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । २१० वटाको पुनर्निर्माण चलिरहेको छ ।

“अझै छुटपुटको लगत संकलनको कार्य चलिरहेको छ,” प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले थप्नुभयो, “निजी आवास पुनर्निर्माणमा राम्रो प्रगति भइरहेको छ ।” जसमध्ये ७ लाख ६४ हजार ५५३ जनाले सम्झौताको आधारमा पुनर्निर्माणको लाभ लिएका लिइरहेका छन् । पछिल्लो ४० महिनाको कार्यप्रगति विवरण अनुसार अझै दुई लाख ३० हजार बढी घर पुनर्निर्माण भइरहेका छन् । निजी आवास पुनर्निर्माण यही आव २०७५÷७६ भित्र सक्ने प्राधिकरणले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।