आगामी आर्थिक वर्षबाट गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम शुरू गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

आगामी आर्थिक वर्षबाट गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम शुरू गरिने

२ वर्ष भित्र धरहरा पुननिर्माणको काम सम्पन्न गर्ने लक्ष्य

काठमाडौं, २९ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट सुरु गर्ने स्पष्ट पारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्र विन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आगामी आर्थिक वर्षबाट सुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिनु भएको हो ।

बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले त्यसका लागि आवश्यक पानी, बाटो, पाटी पौवा लगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीब्रता दिईरहेको पनि स्पष्ट पार्नु भयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाई भएकाले पनि सो पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाई भएको स्पष्ट पार्नु भयो ।

प्राधिकरणले भूमिहिनहरुको पुननिर्माणको कामलाई अघि बढाउन २ लाख नगद वा उनीहरुले चाहेको ठाउँमा जग्गाको लालपूर्जा उपलब्ध गराउने कामलाई पनि अघि बढाइएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूमिहिनलाई जग्गा उपलब्ध गराएर पुनर्निर्माणको कामलाई अघि बढाउन आवश्यक कार्यविधि तय गरिएको र त्यसलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्राधिकरणका अनुसार हालसम्म ८ सय जनाले पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन माग गर्दै प्राधिकरणमा उजुरी दिएका छन् ।

२ वर्ष भित्र धरहरा पुननिर्माणको काम सम्पन्न गर्ने लक्ष्य

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राचीन मौलिकता नहराउने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दावी पनि गर्नु भयो । उहाँले २ वर्ष भित्र धरहरा पुननिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको पनि समितिलाई जानकारी गराउनु भयो ।

प्राधिकरणले समितिलाई बुझाएको कार्य प्रगति विवरणमा निजी आवास पुनर्निर्माणको कामलाई चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने दावी गरिएको छ । त्यसैगरी सम्पदाहरुको पुननिर्माणको कामलाई तीव्रता दिन सुरु गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले भूकम्प पीडितहरुको जीविकोपार्जनको विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढाउन प्राधिकरणलाई सचेत गराएका थिए ।

ताजा समाचार