काठमाडौं, २७ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले आईतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा प्रदर्शन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाउनु भएको हो ।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै उहाँले राजनीतिक सहमति जुटाएर मात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिनु भयो ।
राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रदर्शनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गर्नु भयो । उहाँले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिनु भयो ।
समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण आन्दोलनमा उत्रेका प्रर्दशनकारीमाथि हस्तक्षेप गरेकोमा आपत्ति जनाउनु भयो । उहाँले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो ।